अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले
के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले
आज फेरि भन्नु भयो सम्झाउँदै राती
‘आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !’
गुजी हेर्ने रहर थियो नदेखेको कैल्यै
एक टुक्रा दियालोको झोसें आगो मैले
चुपचाप चोर-चाल आँटीमाथि पुगें
सोलीभरि सेल देखी बल्ल कुरा बुझें,
यौटा सेल टिपी दौडी बज्यैछेउ आएँ
हाँस्तै भनें- ‘इ बज्यै ! मैले गुजी पाएँ !’