न्युयोर्क/ औषधि निर्माण कम्पनी फाइजरले विकास गरेको औषधि कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको छ । कम्पनीले यसै साता एक विज्ञप्ति जारी गर्दै कोभिड विरुद्धको खाने औषधिले संक्रमणका कारण मृत्यु हुने तथा अस्पताल भर्ना हुनेको संख्यामा ८९ प्रतिशतले कमी ल्याउने दाबी गरेको छ । कम्पनीले २ हजार २ सय ५० जनामा गरिएको अध्ययनमा यस्तो नतिजा देखिएको जनाएको हो । यसले विश्वव्यापी रूपमा खोप लगाएका वा नलगाएका संक्रमितको जीवन जोगाउन उल्लेखनीय भूमिका निर्वाह गर्नेछ फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सो खाने औषधि सार्वजनिक प्रयोगका लागि अनुमति दिने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ । यसबारे फाइजरले केही दिनअघि नै एफडीएमा निवेदन दिइसकेको जनाएको छ । अनुमति पाएको खण्डमा यो नै कोभिड–१९ विरुद्ध अमेरिकी निकायले अनुमति दिने पहिलो औषधिको चक्की बन्नेछ ।
पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको ओमिक्रोन हालसम्मकै सबैभन्दा बढी म्युटेसन भएको भेरिएन्ट हो । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘उच्च जोखिम’ को सूचीमा राख्दै थप स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिसकेको छ । हाल प्रयोगमा रहेका खोपहरूले ओमिक्रोनको संक्रमणबाट सुरक्षित राख्ने विषयमा वैज्ञानिकहरूले अध्ययन जारी रहेको बताएका छन् । तर प्रारम्भिक नतिजामा कोभिड विरुद्धका खोपहरूले संक्रमण हुनबाट पूर्ण रूपमा नबचाए पनि मानिसहरू अस्पताल जानुपर्ने अवस्थामा कमी ल्याउने जनाइएको छ ।