भक्तपुर, २३ चैत (रासस)/ चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै १ सय ३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो । गुरुयोजना अनुसार रङ्गशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।
रङ्गशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । हाल जग्गा सम्याउने काम भइरहेको छ । भक्तपुरलाई खेलकुदको हब बनाउने योजना अनुरुप रंगशाला निर्माण गर्न लागिएको हो । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रङ्गशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताउनुभयो ।
बहुवर्षीय योजना भएकाले सङ्घ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइने उहाँको भनाइ छ । चालीस हजार दर्शक अटाउने क्षमताको सो रङ्गशालाको डिपिआर सम्पन्न भएको छ । नगरपालिकाले रु ४० लाख विनियोजन गरेको छ । हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ । खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिनुभयो ।