यस वर्षकाे ‘साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान-२०७९’ नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गरिने भएको बालवाङ्मय तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । सो सम्मानअन्तर्गत रू. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिन्छ । उक्त सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू. ५ लाखको अक्षयकोष स्थापना गरिदिनुभएको हाे । सम्मान यस वर्षबाट वितरण गर्न सुरु गरिएकाे हाे ।
बालबाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले श्री मानन्धरलाई यस वर्ष उक्त सम्मान समर्पण गर्ने निर्णय गरेको हो । बैठकले “राकुपा बालवाङ्मय बाल प्रतिभा पुरस्कार” को राशि रू. १० हजार गर्ने निर्णय पनि गरेको छ। सो पुरस्कारका लागि वरिष्ठ हास्यव्यङ्ग्य लेखक एवम् बालसाहित्यकार प्रा. रामकुमार पाँडेले रू. २ लाख ११ हजार १११/- को अक्षयकोष राखिदिनुभएको बताइएकाे छ । यो पुरस्कार १९ वर्षभन्दा मुनिका स्रष्टाले लेखेका कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको एक कृतिलाई प्रदान गरिने छ । उक्त पुरस्कारका लागि यस वर्ष २०७८ सालभित्र प्रकाशित कृति पेस गर्न सकिने पुरस्कारका सस्थापक प्रा. रामकुमार पाँडेले केटाकेटी अनलाइनलाई बताउनु भएकाे छ ।