रिजेन्ट रेसिडेन्सियल स्कुलमा अमेरिकी लेखक जुली

Featured Highlights मैले पढेको किताब राष्ट्रिय विद्यालय समाचार समाचार

ललितपुर, भाद्र ११ गते सोमबार
रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलमा विद्यालयका बालबालिकासँग लेखक (Meet the Author with School Children) कार्यक्रम अन्तर्गत आज अमेरिकी लेखक जुलीसँग भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अमेरिकी लेखक जुलीको पहिलो प्रकाशित कृति ‘साथी’ बारे चर्चा गरिएको थियो । साथै उक्त अवसरमा रिजेन्ट रेसिडेन्सियल स्कुलद्वारा प्रकाशित बालसिर्जना पत्रिका ‘चन्द्रमा’ को पनि विमोचन गरिएको थियो । उक्त पत्रिकामा रिजेन्ट स्कुलमा अध्ययनरत ५३ जना बालबालिकाका कथाहरु समावेश गरिएको छ ।
विद्यालयका प्रिन्सिपल नवराज सञ्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा चर्चित बालनियात्राकृति ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजाले विशेष अतिथिका रूपमा बोल्दै बालबालिकाको सिर्जनात्मक क्षमताको विकासका लागि बालपत्रिका प्रकाशन गर्ने रिेजेन्ट स्कुलको कार्यको प्रशंसा गर्नुभयो । मन्तव्यका क्रममा उहाँले आफ्नो बालनियात्राकृति ‘सम्पदा दर्शन’ लोकप्रिय भएकोमा खुसी व्यक्त गर्नु भएको थियो । उपत्यकाका २० भन्दा बढी विद्यालयमा पढाई भइरहेको यस कृति मन पराउने पाठक विद्यार्थीप्रति लेखक देउजाले हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

‘चन्द्रमा’ पत्रिका प्रकाशनको उद्देश्यबारे प्रकाश पार्दै प्रिन्सिपल सञ्जेलले विद्यार्थीको सिर्जनालाई मञ्च दिनु ‘चन्द्रमा’ पत्रिकाको मुख्य उद्देश्य हो भन्नुभयो । उहाँले बालबालिकाको सिर्जनात्मक लेखनको पहिलो प्रयासका रूपमा प्रकाशित ‘चन्द्रमा’ पत्रिकामा रचना समावेश सबै लेखक बालबालिकालाई बधाई दिनुभयो ।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल डा. विद्या पोखरेल, बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरे, विद्यालयका कोअर्डिनेटर रामजी आचार्य, कवि ईश्वर थोकर र जुलीका पथप्रदर्शक राम लामाले ‘चन्द्रमा’ पत्रिकाको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
रिजेन्ट स्कुलको ‘चन्द्रमा बालसिर्जना क्लब’ मा आबद्ध रहनुभएका बालबालिकाद्वारा सञ्चालित कार्यक्रममा सहभागी बालबालिकाहरुले लेखक जुलीको कृति ‘साथी’ बारे लेखकलाई विभिन्न प्रश्नहरू सोध्नुभएको थियो ।
हाङ्सा लिम्बूले उद्घोषण गर्नुभएको कार्यक्रममा प्रियांसा योञ्जाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सुवानी ढकाल, अनोरा लिम्बू, टिसा प्रजापती र हिङ्मान लिम्बूले ‘साथी’ कृतिमाथि समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
कक्षा ७ बाट नाओमी दोङ र अंकिता पाण्डे र कक्षा ८ बाट त्यामी राई, प्रशंसा अधिकारी, अनोरा लिम्बू र राचेल थापाले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा लेखक जुलीको कृति ‘साथी– काठमाडौँको सडकको एउटा कुकुर’ कृतिको कथासारमाथि तयार गरिएको लघुनाटक पनि प्रस्तुत गरिएको थियो । वियोन श्रेष्ठले निर्देशन गर्नुभएको नाटकमा उत्साह बस्नेतको पटकथा रहेको थियो । कलाकारहरुमा प्रवेश, आर्या, प्रान्जल, क्लिनिका, खुसी, आभास, वार्गव, हिङ्मा र आर्याले विभिन्न पात्रको भूमिकामा अभिनय गर्नुभएको थियो । सेरिना शाहीले गीत प्रस्तुत गर्नुभएको कार्यक्रममा उहाँलाई संगीतमा कृतल अधिकारी, आयु शर्मा र इडेन सुनुवारले साथ दिनुभएको थियो ।
इभाञ्जलिना थिङ, समता राउत, आरोही घिमिरे, सदीक्षा राना, अविगेल पुन लगायत विभिन्न कक्षाका विद्यार्थीको समूहले आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।
रिजेन्ट स्कुलको ‘चन्द्रमा बालसिर्जना क्लब’ को कार्यक्रमबाट आफू निकै प्रभावित भएको लेखक जुलीले मन्तव्यका क्रममा बताउनु भएको थियो । उहाँले विद्यालयले गरेको भव्य स्वागत सत्कारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *