- कार्तिकेय घिमिरे
नेपालमा पहिलो अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव (बालफिल्म महाेत्सव) वि.सं.२०५३ मा आयोजना भएको थियो । नेपाली चलचित्र निर्माता र निर्देशकलाई बाल चलचित्र निर्माणका लागि उत्प्रेरित गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको थियो । नेपाल बाल संगठन, नक्साल, काठमाडौँद्वारा आयोजित उक्त महोत्सवमा विभिन्न देशका बाल चलचित्रहरु देखाइएका थिए ।
त्यस्तै दोस्रो अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव नेपाल बाल संगठन, बालमन्दिर, नक्सालकै आयोजनामा २०५७ साल असोज ८ देखि १० गतेसम्म आयोजना गरिएको थियो । यस महोत्सवमा विभिन्न पाँच देशका बाल चलचित्रहरु देखाइएका थिए ।
त्यतिबेलाको महोत्सवमा आयोजक समितिमा रहेर काम गरेकाे र तात्कालीन् समयमा ‘बालक’ पत्रिकामा सम्पादक समेत रहेकाले त्यतिबेला सम्पन्न बाल चलचित्र महोत्सवको स्मरण गर्दै केही सम्झना साझा गरेकाे छु । विश्वास छ यी सम्झनाहरु नयाँ पुस्ताका लागि उपयाेगी हुनेछन् ।
सर्वप्रथम यति भनौँ नेपालमा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव (बालफिल्म महाेत्सव) आयोजनाको सुरुवात गर्ने श्रेय हामीले नेपाल बाल संगठन, बालमन्दिर, नक्साललाई दिनुपर्छ । यो आजभन्दा २७ वर्ष अगाडिको कुरा हो । यो इतिहास हो । यसलाई हामीले स्मरण गर्नुपर्छ । विगतमा योगदान गर्ने अग्रजप्रति कृतज्ञता व्यक्त गर्नु असल मानिसको कर्तव्य हो भन्ने मलाई लाग्दछ ।
अब म त्याे समयकाे महोत्सव सम्पन्न गर्ने क्रममा काम गर्दाका अनुभवहरुबारे बुँदागत रुपमा केही केही भन्न चाहन्छु :
चलचित्र छनोटको चुनौती
चलचित्रले बालबालिकाको विचार निर्माणमा प्रत्यक्ष असर गर्दछ । तसर्थ बाल चलचित्र महोत्सव एउटा संवेदनशील महोत्सव हो । यस महोत्सवका लागि चलचित्र छनोट गर्ने कुरा एउटा चुनौतीपूर्ण चरण हो । यस महोत्सवमा सहकार्य गर्नुहुने अग्रजबाट मैले त्यतिबेला सिकेको पहिलो पाठ हो यो । त्यसैले त्याे समयमा हामी चलचित्र हेर्ने र छनोट गर्ने भाषागत चुनौतीको ठुलो पर्खाललाई समेत अनेक उपाय लगाएर सरल बनाउँदै बालचलचित्र छनोटलाई उच्च प्राथमिकताका राखेर अघि बढेका थियौँ ।
चलचित्र छनोट गर्दा हामीले विश्वभरिका बालबालिकाको साझा विषयकाे कथामा बनेको चलचित्रलाई बढी प्राथमिकता दिएका थियौँ किनकि यस्ता साझा विषय हुँदा चलचित्रको भाषा नबुझिने अवस्थामा पनि दृश्य र पात्रहरुको हाउभाउ हेर्दाहेर्दै चलचित्र बुझिने गरी रमाइलोसँग हेर्न सकिने अनुभव हामीले संगालेका थियौँ । त्यतिबेला चलचित्र छनोट गर्दा हिंसाका दृश्यहरु भएका, ठुला मानिसका विषयहरुमा बालबालिका पात्र मात्र भएका उनीहरुकाे परिव्रतनका लागि मुख्य भूमिका नभएका र मूल पात्रले दिने सन्देश नकारात्मक भएका तथा बालबालिकाले आफ्नो उमेर सरहका मूल पात्र नायक वा नायिकाको अनुसरण गर्दा खराब सन्देश प्राप्त गर्ने प्रकृतिका चलचित्रलाई हामीले छनोट गरेका थिएनौँ ।
यीबाहेक कतिपय कुरा हाम्रो र अर्को देशको सामाजिक र सांस्कृतिक चलन फरक भएकाले पनि त्यहाँका लागि सहज मानिने बाल चलचित्रको दृश्य र सन्देश हाम्रो समाजका लागि उपयोगी नहुने रहेछ भन्ने कुराकाे महसुस हामीले त्यतिबेला गरेका थियौँ । यही अनुभवको आधारमा हामी त्यतिबेला सम्बन्धित देशका पुरस्कार प्राप्त बाल चलचित्रको पछि लागेनौँ र पुरस्कार जितेको भन्नासाथ एकपटक मूल्याङ्कन टिमसँग बसेर नहेरी हतारमा छनोट गर्ने प्रवृत्ति राम्रो होइन भन्ने त्यतिबेला मैले अग्रजहरुबाट सिकेको ज्ञान मलाई अहिलेसम्म पनि प्रिय लाग्छ । पुरस्कार भन्ने कुरा प्रतियाेगिताकाे समयमा निर्णायकले सहभागी प्रतियाेगी मध्यबाट राम्राे छान्ने एउटा परम्परा मात्र हाे ।
दर्शकको चुनौती
करिब तीन दशकअगाडिको समय भन्दा अहिले समयले धेरै फड्को मारिसकेको छ । त्यतिबेला दर्शकलाई महोत्सवको हलसम्म लिएर आउन यातायात साधनको समस्या थियो । चलचित्र हेरेर बालबालिका बिग्रन्छन् भन्ने अभिभावकीय मानसिकता पनि तगारोको रुपमा रहेको थियो । अहिलेको जस्तो यति धेरै चेतना आइसकेको समाज थिएन त्यतिबेला । हलसम्म आइपुगेका दर्शकले रमाएर चलचित्र हेर्थे । बालरुचि अनुकुल छानिएका चलचित्र विश्वभरका सबै बालबालिकालाई मन पर्छन् भन्ने पाठ त्यतिबेला हामीले सिकेका थियौँ । तर बालबािलकालाई अवसर दिने वयस्क मान्छेहरुलाई कन्भिन्स गरेर बालबालिकालाई हलसम्म ल्याउने कठिन चुनाैती त्यतिबेला र अहिले पनि उस्तै रहेकाे छ जस्ताे मलाई लाग्दछ ।
अहिले दर्शकका लागि सार्वजनिक यातायातकाे सुविधा त सहज छ तर दर्शकले घरघरमै बसेर चलचित्र हेर्नपाउने अवस्था भने ठुलो चुनौतीका रुपमा रहेको देखिन्छ । तसर्थ अब हुने महोत्सवका चलिचत्लेर छनाेटकर्ताहरुले आफ्नो महत्व स्थापित गर्न साँच्चैका राम्रा बाल चलचित्रहरु, बालमनका विषयका, बालबालिका दर्शकका लागि नै मिहिनेतका साथ तयार गरिएका, बालबालिकाले नै हेरेर उनीहरु असाध्यै रमाउने किसिमका बाल चलचित्रको छनोट र प्रदर्शनमा विशेष ध्यान दिनु जरुरी देखिन्छ ।
त्यतिबेलाको महोत्सवमा कुनकुन चलचित्र छनोट भएका थिए ?
त्यतिबेलाको महोत्सवमा पाँचवटा विदेशी भाषाका बाल चलचित्रहरु छनोट भएर प्रदर्शन भएका थिए । त्यतिबेला उपलब्ध भएकामध्येबाट उत्कृष्ट चलचित्र छनोट गरी महोत्सवमा प्रदर्शन गरिएको थियो ।
छनोटमा परेका पाँचवटा बाल चलचित्रमा फिनल्यान्डको टमी एण्ड द वाइल्ड क्याट, इजिप्टको द काइट, रसियाको कस्लान एण्ड लुड्मिला, फ्रान्सको किरिक्को एण्ड सोरसेरस र स्विजरल्याण्डको द अंकल हु केम फ्रम द सी रहेका थिए ।
कस्ता थिए ती बाल चलचित्रहरुको कथा ?
महोत्सवको पहिलो दिन पहिलो शोमा प्रदर्शन भएको चलचित्र टमी एण्ड द वाइल्ड क्याटमा जंगली बिरालो र टमी (बालपात्र) बिचको मित्रताको सुन्दर कथा रहेको थियो । जंगली जनावरको रिसर्चका लागि बुबाले बन्दी बनाउनुभएको बिरालोलाई जोगाएर उसको घर पठाउने बालक टमीलाई अन्त्यमा हिउँ पहाडमा बाटो बिराएर हराएको अवस्थामा बाटो देखाइदिने काममा सहयोग गरी हिउँ बिरालोले आफ्नो गुनको रिन तिरेको मार्मिक कथा यस चलचित्रमा रहेको थियो । बेजोड छायाङ्कन रहेको यो चलचित्रमा मानव र जीवजन्तुबिचको सङ्घर्ष तथा बालमनको निश्चल र अबोध प्रेमलाई सुन्दर र मनछुने गरी प्रस्तुत गरिएको थियो । सायद अहिले त युट्युबमा पनि यो चलचित्र हेर्न पाइन्छ होला ।
एउटा अन्वेषकको छोरा टमीले त्यो बिरालोलाई मुक्त गर्न गरेको संघर्षले बालमनमा पार्ने प्रभाव यस चलचित्र निर्माणको सफलता हो भन्ने मलाई लाग्दछ । बालक नायक टमीको अभिनय र चितुवाको सार्थक उपस्थिति लागेको थियो ।
महोत्सवको दोस्रो शोमा देखाइएको चलचित्र द काइटमा एउटी किशोरीको कथा थियो । किशोर मनोविज्ञानको राम्रो चित्रण गरिएको यस चलचित्रमा साल्मा नाम गरेकी किशोरीको किशोरावस्थामा पुगेपछि परिवर्तन हुने रुचि र शारीरिक परिवर्तनलाई कलात्मक रुपमा प्रस्तुत गरी किशोरावस्थाका बालबालिकासँग कस्तो व्यवहार गर्दा राम्रो हुन्छ भन्ने सन्देश चलचित्रमा रहेको थियो । त्यतिबेला यो चलचित्र हेरेर १० वर्षमाथिका बालबालिकाहरु रमाउनुभएको थियो । रमाइलो घटनाक्रमका माध्यमले किशोर जीवनका अधिकार र कर्तव्यबारे भन्ने चलचित्र लेखक र निर्देशकको क्षमता तारिफयोग्य रहेको थियो । कलाकारहरुले पनि उत्कृष्ट अभिनय गरेका थिए ।
रुसी कवि पुश्किनको कवितामा आधारित चलचित्र रुस्लान् एण्ड लुड्मिला पनि हेर्न मजा आउने चलचित्र थियो । बालजीवनमा आउने उतारचढावलाई अबोध बालककै सोचाइ अनुसार बाल मनोविज्ञानलाई ध्यान दिएर तयार यो चलचित्र बालबालिमा असल बानी निर्माणक लागि उपयोगी रहेको थियो ।
महोत्सवमा टिनएजर्स च्वाइसमा पर्न सफल अर्थात् किशोर उमेरका दर्शकको प्रिय चलचित्र बन्ने सौभाग्य किरिको चलचित्रले पाएको थियो । कार्टुन शैलीमा युनिसेफको मीना कार्टुनको झल्को दिने गरी तयार गरिएको यस चलचित्रमा मीना कार्टुन चलचित्रमा मीनाले दर्शकको स्यावासी पाएजस्तै किरिको नामक बाल पात्रले दर्शको ताली पाएका थिए ।
किरिको एउटा सानो बालकको कथा हो । जन्मदा उसको शरीर एकदमै सानो हुन्छ । तर ऊ चलाख हुन्छ । उसले आफ्नो चलाखीले साथीहरुलाई बदमास राक्षसनीबाट जोगाउने र सुख्खा गाउँमा पानीको मुहानसम्म पुगेर पानी ल्याउन सफल भएको र अन्त्यमा धन्यवादस्वरुपमा गालमा माया पाउनासाथ अकस्मात किरिको लक्का जवान युवक बनेको दृश्य रोमान्चक थियो । चलचित्रले असल कर्म गर्दै जानुपर्छ राम्रो फल पनि प्राप्त हुँदै जानेछन् भन्ने सन्देशले बालमनका राम्रो छाप परेको देखिएकाे थियाे ।
चलचित्र महोत्सवमा अन्तिम शोमा प्रदर्शन भएको चलचित्र द अकल हु केम फ्रम द सी मा ११ वर्षीय कलाकार लिसा र उसको भाइ विली र उनीहरुकी आमाबिच देखा पर्ने मतभेद र द्घन्दलाई देखाइएको थियो । एउटी आमाको मनोदशा, सन्तान प्रतिको प्रेम र बालबालिकाको मनोदशालाई बुझेर कसरी सही निर्णय गर्नसकिन्छ भन्ने चलचित्रको सन्देश प्रभावकारी रहेको थियो । अभिभावक र बालबालिकाको सम्बन्धको पाठ पढाइएको यो चलचित्रलाई बोर बन्नबाट जोगाउने निर्देशक र कलाकारको काम प्रशंसनीय रहेको थियो ।
हरेक शाे पछि छलफल कार्यक्रम
वर्तमान समयमा गरिने चलचित्र महोत्सवले हरेक शाेपछि बालबालिका र बालचलचित्र निर्माणमा सराेकार राख्नेहरु माझमा यी विविध विषयमा छलफल गर्नुपर्दछ । याे छलफल २४ वर्षअघिकाे महाेत्सवमा सानाे स्वरमा भएकाे थियाे भने अब ठुलाे स्वरमा हुनु जरुरी छ किनकि अब यस क्षेत्रमा काम गर्नेहरु थुप्रै छन् । छलफलका विषयहरु शाे सकिएकाे चलचित्रमा केन्द्रित रही त्यस चलचित्रमा अभिनय, निर्देशन, कथा, पटकथा र सम्वाद, सिनेमेट्राेग्राफी, बालसुलभ विषयवस्तु र भाषा आदि आदि विषयमा महाेत्सवमा प्रदर्शन गरिएका हरेक चलचिचत्रहरुमाथि छलफल केन्द्रित गर्न सकियाे भने महाेत्सवकाे आयाेजना वास्तवमै सफल हुनेछ । ती चलचित्रहरु हेरेर नयाँ पुस्ताले नयाँनयाँ कुराहरु सिक्न सक्नेछन् र आफ्नाे काम गर्ने तरिकालाई पनि परिमार्जन र परिस्कार गरी अघि बढ्न सक्नेछन् ।
चलचित्र महोत्सवको सन्देश ?
वर्तमान समयमा चलचित्र महोत्सवले बालबालिकासँग सरोकार राख्नेहरुलाई बालबालिकालाई देखाउने चलचित्रको छनोटप्रति चनाखो र सचेत बनाउन सक्ने छलफल कार्यक्रमहरुको आयोजना गरिनुपर्छ । महोत्सवले बालबालिकालाई देखाइने चलचित्रको संवेदनशीलताबारे महसुस गराउँदै भविष्यमा चलचित्र निर्माण गर्दा पनि कस्ता चलचित्र बाल चलचित्र हुनसक्छन् भन्ने कुराको निचोड दिने छलफलहरु हुनसके महोत्सव सफल भएको मानिने छ । साथै बालबालिकालाई पनि उहाँहरुले हेर्ने सामग्री छनाेटमा सचेत हुनुपर्छ भन्ने सन्देश महाेत्सवमा आयाेजना हुने छलफल कार्यक्रमहरुमा दिन काेसिस गरिनु राम्राे हुनेछ ।
वास्तवमा महोत्सवबाट बालबालिकाका लागि चलचित्र निर्माण गर्ने पक्षले पनि बालबालिकाको रुचिबारे राम्ररी थाहा पाउन सक्छन् भन्ने सन्देश हामीले त्यतिबेलाको महोत्सव आयोजनाको क्रममा महसुस गरेका थियौँ । अहिले त समय धेरै अगाडि बढिसकेको छ । तसर्थ अहिलेको समयमा आयाेजना गरिने बाल चलचित्र महोत्सवमा बालचलचित्रले बालबालिकाकाे सामाजिक जीवनमा पार्ने असरबारे छलफल गरिएन भने त्यो महोत्सव नि अपुराे र खल्लो हुन्छ । त्यसैले चलचित्र हेरेर फर्केका दर्शकलाई पनि छलफलका लागि तयार गर्ने गरी यस विषायका बहसहरु गर्नसके महोत्सव सफल हुनेछ । त्यसैले कुनै पनि बहानामा बाल चलचित्रमा धूमपान, मधपान र अश्लिल सिनहरु छन् भने त्यस्ता चलचित्रलाई महाेत्सवमा छनाेट गरिनुहुन्न । धूमपान, मधपान र अश्लिल सिनहरु राखेर मात्र राम्रा चलचित्र बन्न सक्छन् भन्ने चलचित्र निर्माताहरु आफ्नाे क्षमतामा विश्वास गर्न नसक्ने व्यक्तित्व हुन् । हामीले त्यस्ता व्यक्तित्वहरु र तिनीहरुले निर्माण गरेका चलचित्रहरुलाई कहिल्यै महत्व दिनुहुँदैन । असल समाज निर्माणका लागि तिनीहरु धमिरा हुन् ।