बालबालिका खोजतलास समन्वय केन्द्रका बालसंरक्षण अधिकृत सन्तोष चन्द्र अधिकारी भन्नुहुन्छ, “मधेश प्रदेशमा हरेक वर्ष एक हजार बालिकाहरु हराउँछन् ।”
हराएका ती बालिकामध्ये कतिजना भेटिन्छन् त ?
“त्यसको वास्तविक तथ्याङ्क त हामीसँग छैन । छिमेकी देश भारतसँगको खुला सिमानाका कारणले गर्दा यस विषयमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ । कतिपय बालिकाको मामाघर भारतमा भएकाले उता गएका हुन् भन्ने पनि छ । तर ती हराएका बालिकाको वारेमा स्पष्ट जानकारीका लागि यस वर्षबाट हामीले अन्य सबै सरोकारवालाहरुसँग समन्वय गरेर अगाडि बढ्ने योजनामा छौँ ।”

नेपालमा बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन प्रतिवेदन २०८० का अनुसार देशभरि हराएका बालबालिकामध्ये ० देखि १० वर्षमा बालकको संख्या बढी हुनु र ११ देखि १८ वर्ष उमेर समूहमा बालिकाको संख्या उल्लेख्य मात्रामा बढी हुनुको कारणबारे विस्तृत अध्ययन हुनु जरुरी रहेको छ ।
मधेसमा वर्षेनी हराउने एक हजार बालिका कहाँ छन् ? के गर्दैछन् ? यो तथ्य कसैलाई नि थाहा छैन । यसबारे राज्यले पनि अध्ययन गर्न सकेको छैन । बोर्डरमा कार्यालय राखेर बसेका गैरसरकारी संस्थासँग पनि यसको तथ्याङ्क छैन ।
नेपालमा बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन प्रतिवेदन २०८० का अनुसार २०७९-०८० मा हराएर फेला पार्न नसकेका देशभरिका बालिकाको संख्या ५ सय १२ रहेको छ । बालकको संख्या १ सय ६४ रहेको छ । अङ्कको यति ठुलो फरकले पनि के देखाइरहेको छ भने बालिकाको सुरक्षाप्रति अभिभावकका लागि राज्यले विशेष सुरक्षा चेतना दिनु आवश्यक छ । अर्को कुरा यसको रोकथाममा राज्यले पनि विशेष सुरक्षा पहल गनुपर्ने जरुरी देखिएको छ । खुला सिमानाबाट हुने बालबालिकाको बेचबिखन रोक्न राज्यको अहिलेको प्रयास पर्याप्त देखिँदैन ।
कस्ता बालबालिका बेचबिखनको जोखिममा छन् ?
यस विषयमा बाल संरक्षण अधिकृत अधिकारी भन्नुहुन्छ, “जो बालबालिकाको परिवारमा समस्या छ । बुबा र आमाबिच झगडा भइरहन्छ । बुबाले रक्सी खाएर आई आमालाई पिट्छ । घरमा पेटभरि खान खाना खान पाइने अवस्था छैन । आदि आदि यस्तै किसिमका समस्या र अवस्थामा रहेका बालबालिका बेवारिसे रुपमा सडकमा भेटिने गरेका छन् । यस्ता बालबालिका नै बेचबिखनको उच्च जोखिममा नि छन् भन्न सकिन्छ किनकि यिनीहरुलाई विभिन्न प्रलोभन दिएर लोभ देखाएर र बनावटी माया देखाएर फसाउने गरिएको देखिन्छ ।”
यस कुराबाट बच्न के गर्नुपर्छ जस्तो लाग्छ ?
बाल संरक्षण अधिकृत अधिकारी भन्नुहुन्छ, “नौ, दस र एघार वर्षका बालबालिकाहरु कुरा बुझ्ने भइसकेका हुन्छन् । त्यसैले उनीहरुले घरका मान्छेसँग रिसाएर आवेशमा घर छाडेर हिँड्नु हुँदैन । घर छाडेपछि अझ बढी दुःख पाइन्छ भन्ने कुरा सबै बालबालिकाले बुझ्नु जरुरी छ । ”
“सहरमा सुख पाइन्छ, पेटभरि खान पाइन्छ । नयाँ लुगा लगाउन पाइन्छ । एक्लै आफूखुसी बस्न पाइन्छ । सहरमा गएपछि पढाई पनि दिने हो !”
अहिले सडकमा भेटिएका अधिकांश बालबालिकाले घर छाड्नुअघि पाउने गरेका आश्वासनहरु यस्तै यस्तै हुन्छन् । तर सहर पुगेपछि न त ती भलाद्मी मान्छेले पढाइ दिन्छन् । तिनको दूव्र्यवहार सहन नसकेर बालबालिका सडकमा पुग्छन् । अनि तिनले भनेका सहरमा सुख पाइने, नयाँ लुगा लगाउन पाइने, पेटभरि खान पाइने, आफूखुसी गर्न पाइने आदि आदि सबै कुरा झुटा सावित हुन्छन् । यो कुरा थाहा पाउँदासम्म बालबालिकाले धेरै शारीरिक र मानसिक पीडा भोगिसकेका हुन्छन् । उनीहरुलाई यसबाट बाहिर निस्किन वर्षौ लाग्छ ।
त्यसैले आफ्नो गरिबीको अरु कसैले फाइदा उठाउन नपाउन् भनेर अभिभावक र स्वयं बालबालिकाहरु पनि चनाखो हुनुपर्ने देखिन्छ । प्रलोभनमा परेर आफ्नो नाता नै नभएको अपरिचत मान्छेलाई आफ्नो मान्छे हो भनेर सहरसम्म त पुग्न सकिएला तर सहरमा पाइने दुःखबाट बच्न सकिँदैन । यस विषयमा सबै बालबालिका सचेत हुनुपर्छ ।
- केटाकेटी अनलाइन डेस्क