ललितपुर, वैशाख २८ – ललितपुरको रिजेन्ट रेसिडेन्सियल स्कुलले नयाँ शैक्षिक सत्र २०८२–२०८३ को पूर्वसन्ध्यामा ‘प्रथम अभिभावक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम–२०८२’ आयोजना गर्ने भएको छ। विद्यालयले प्रत्येक शैक्षिक सत्रको थालनीमा आयोजना गर्दै आएको यो कार्यक्रम आउँदो शुक्रबार हुने जनाएको छ। विद्यालयद्वारा जारी सूचना अनुसार, कार्यक्रमको मुख्य उद्देश्य अभिभावकहरूलाई विद्यालयको शैक्षिक दृष्टिकोण, विगत वर्षको प्रगति विवरण र आगामी योजनाहरूबारे विस्तृत जानकारी गराउनु हो। यसका साथै, कार्यक्रमलाई सूचना आदानप्रदान र अन्तरक्रियात्मक बनाउन विभिन्न प्रस्तुतीकरणहरू समावेश गरिने विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालयका निर्देशक नवराज सन्जेल, प्राचार्य डा. विद्या पोखरेल र सहायक प्राचार्य रामजी आचार्यले विभिन्न विषयमा आफ्ना विचार तथा जानकारी प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा विद्यालयको गत वर्षको प्रगति, शैक्षिक, भौतिक र सामाजिक क्षेत्रका भावी योजना, शैक्षिक तथा भौतिक व्यवस्थापनको वर्तमान अवस्था र सुधारका प्रयास, विद्यालय तथा समुदाय साझेदारी कार्यक्रमको अवधारणा र कार्यान्वयन, साथै शिक्षक–विद्यालय–अभिभावक सम्बन्धलाई थप मजबुत बनाउने उपायहरूबारे छलफल हुनेछ। विद्यालय प्रशासनले यो कार्यक्रमलाई अभिभावक र विद्यालयबीच खुला र विश्वासिलो सम्बन्ध स्थापित गर्ने महत्त्वपूर्ण माध्यमको रूपमा लिएको छ। विद्यालयले अभिभावकहरूको सक्रिय सहभागिताले विद्यालयको समग्र गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक प्रतिनिधि र सम्पूर्ण अभिभावकहरूको उपस्थिति रहनेछ। कार्यक्रम विवरण:
- स्थान: रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर
- मिति: २०८२ जेठ ३ गते, शुक्रवार
- समय: साँझ ५:०० बजे
विद्यालयले सम्पूर्ण अभिभावकहरूलाई तोकिएको समयमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।