ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्ध खोप

अन्तर्राष्टिय समाचार

ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको छ । खोप अभियान शुरु भएको ब्राजिलका अधिकारीलाई उद्धृत गर्दै ब्राजिलियाली सञ्चार माध्यम सिएनएन ब्रासिलले जनाएको छ । ब्रासिलका अनुसार यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् । उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो ।

डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले पाँच देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो । यो खोप बालबालिकाको लागि लगाउन सुरक्षित रहेको बताइएपछि विभिन्न देशहरूमा सो उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको छ ।

नर्वे लगायतका कतिपय यूरोपेली मुलुकले पनि बालबालिकाका लागि यसको प्रयोग गर्न अनुमति दिइसकेका छन् । यद्यपि, बालबालिकालाई खोप लगाउन आवश्यक नभएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नी ११ वर्षीया छोरीलाई बालबालिकाको लागि लगाइने भनिएको खोप नलगाउने बताउनुभयो । ब्राजिलले सन् २०२१ को जनवरीमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ३२ करोड मात्रा खोपको व्यवस्था गरेको छ । यहाँ हाल लगभग १४ करोड ३० लाख मानिसहरू अर्थात् ६८ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *