हामीले बाटो भुल्याैँ

मेरो आवाज मैले घुमेको ठाउँ

(मेराे हलेशी दर्शन- १)महेश भट्टराई

मलाई नयाँ नयाँ ठाउँ घुम्न औधी मनपर्छ तर त्यस्तो मौका कहाँ पाउनु र ? एक त आफू परियोे विद्यार्थी दिनैपिच्छे स्कूल जानु परिहाल्यो, कुनै बेला स्कूल छुट्टी भै हाले पनि म जस्तो फुच्चेले एक्लै टाढा घुम्न जान नमिल्ने । बाबाआमा दुवै जना जागिरे, अफिसबाट उहाँहरुलाई विदै नमिल्ने । तैपनि म बेलाबेलामा मलाई घुम्न लैजानु भनी पिरोल्न भने छोड्दिन । उहाँहरु पनि “हुन्छ नि तँलाई मौका पर्दा घुमाउन लैजाउँला नि” भन्दै गर्नुहुन्छ । म उहाँहरुको बचन पूरा हुने दिनको पर्खाइमा एकदमै बेचैनीसाथ बसिरहेको थिएँ । नभन्दै मेरो कक्षा ४ को वार्षिक परीक्षा समाप्त भएपछि भि.एस.निकेतन, थापाथलीले १ महीना जतिको बिदा दियो । म यसपाली चैं घुम्न नलगी बाबाआमालाई कुनै हालतमा नछोड्ने विचारले झगडा गर्ने सुरसारमा थिएँ तर त्यो भन्दा पहिले नै मैले बोल्न नपाउँदै बेलुका अफिसबाट घर आउनासाथ बाबाले भन्नु भयोः “महेश ! यसपाली त तेरो तालुमा आलु फल्ने भयो नि ।”

“कसरी ?”

“हामी पर्सि यहाँबाट खोटाङ्ग र झापा घुम्न जाने”

मेरो हर्षको सीमा रहेन । भएको के रहेछ भने बाबाले काम गर्ने अफिसले सरकारी काममा बाबालाई खोटाङ्ग र झापा खटाएछ । जाँदाखेरि अफिसकै गाडी लिएर जान मिल्ने भएछ । म खुसीले तीनहात उफ्रँदै आमालाई भनेँ, “आमा ! तपाईँ तुरुन्तै पर्सिदेखि अफिसमा alदा माग्नु त ।”

“किन ? के भन्छ यो ?”

“पर्सि देखि बाबा अफिसको काममा खोटाङ्ग र झापा जाँदै हुनुहुन्छ । हामी पनि जाने ।”
सानी बहिनी तनुजा मेरो कुरो सुनिरहेकी थिई । उसले पनि उप«mँदै भनी “म पनि जान्छु ।”
आमाले भन्नु भयो “ठीकै छ, विदा मिलेछ भने म पनि जाउँला । मलाई पनि हलेसी महादेवको दर्शन गर्न जानुपरेको छ ।”
म हतारिंदै हिड्ने दिन पर्खिन थालेँ । वाफ रे ! हतारमा त एक दिन समय वित्न पनि कस्तो गाह«ो । एक एक मिनेट पनि एक एक वर्ष जस्तै लाग्ने ।

भोलिपल्ट बाबाले अफिसको नयाँ बलेरो जीप घरमै ल्याउनु भयो, त्यसको भोलिपल्ट हामी हिड्ने । आहा कस्तो मज्जा ! मेरो खुसीको सीमा रहेन । बहिनी तनुजा त खुसीले थपडी बजाउँदै गाडीको सामु धेरै बेरसम्म नाचीरही ।

भोलिपल्ट हामी ७ बजे जाने निधो भयो । ड्राइभर भेष बहादुर बस्नेत अंकल समयमै आउनु भयो । वहाँको घर लोकन्थलीबाट गट्ठाघर आउन कति पो छ र । अंकलले रमला आन्टीलाई पनि ल्याउनु भएछ । रमला आन्टीलाई पनि हलेसी घुम्न मन लागेछ । हामी पनि कस्ता । ७ बजे हिड्ने भनेर ९ बजे पो हिड्यौं । मेरो त बानी नै यस्तो गाडीमा अगाडिको सीट नभई नहुने । अगाडि बस्नुको कारण पनि छ । अगाडि बस्यो भने अगाडिको दृश्य सबै छर्लंग देखिन्छ । म र अण्टी अगााडि बस्यौं, बाबा, आमा, हजूरआमा र तनुजा पछाडि बस्नुभयो । हामी बनेपा–वर्दिवास सडकखण्डबाट जाने भयौं । हाम्रो गन्तव्य भनेको सिन्धुली हुँदै आज कटारी पुगेर बस्ने ।

गाडीमा सीट त अझै बाँकी थियो, र हामीले हिजै फोन गरेर हाम्रो छिमेकी सरोज कोइराला अंकललाई पनि वहाँको घर सिन्धुली नै भएकोले जाने भए जाउँ है भनेको हो तर अहिले वहाँहरुको जाने काम परेको रहेनछ, नत्र चीजन दिदी, सरोज अंकल र आण्टी पनि भएको भए झन रमाइलो हुने थियो । हामीले घर छाड्दा इन्दु दिदी र सुस्मिता दिदी निन्याउरो मुख लगाइरहनुभएको थियो, किनकि हामी नफर्किएसम्म घरमा वहाँहरु मात्रै बस्नुपथ्र्यो । घरभन्दा अलि पर गट्ठाघर चोकमा पुगेपछि आमाले भन्नु भयो “भेष बहादुर भाई, एकछिन गाडी साइड लगाउनु ल, मेरो औषधी नै घरमा छुटेछ ।”

“फर्काउँ त ?” भेषबहादुर अंकलले भन्नु भयो ।
“होइन नफर्काउनु । हिँडेपछि फर्कियो भने साइत बिग्रन्छ । म सुस्मिता वा इन्दुलाई फोन गरेर यतै बोलाउँछु ।”
एकै छिनमा सुस्मिता दिदीले औषधी त्यहीं ल्याइदिनु भयो । गाडी पुनः अगाडि बढ्यो । आहा ! अरनिको राजमार्ग पनि अव त कस्तो फराकिलो ! जापान सरकारले हामीलाई धेरै गुन लगायो । हामी जगाती कटेर उकालो जाँदैछौं । साँगाको नवनिर्मित महादेवको विशाल मूर्ति हामीले गाडीको झ्यालबाटै देख्यौं । महादेवले हामीलाई ठिङ्ग उभिएर “ल है राम्रोसँग गएर हलेसीमा मलाई भेटेर आउनु है” भनेजस्तो लाग्यो । मैले तुरुन्तै बाबा, आमालाई भनेंः “एकदिन ऊ त्यो मूर्ति भएको ठाउँमा पनि जानु पर्छ । नजिकैबाट हेर्न ।”

बहिनी तनुजाले हत्तपत्त भनी “होइन, आजै जाने ।”
आमाले भन्नुभयो “आज भ्याइंदैन पछि जाउँला है”

तर ऊ त आजै जाने भन्दै झगडा गरेर हाब्रो पो बाउन थाली । मैले “अहिले चुप लाग, म तँलाई अहिले एकछिन पछि चकलेट दिउँला है” भनेर फकाएपछि चुप लागी । बनेपा पुग्नलाग्दा भैंसेपाटीमा पुगेपछि हजूरआमाले भन्नुभयो “ऊः हाम्रो देबेको अफिस ।” सानुकाका देवराजले काम गर्ने स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर सडक भन्दा अलिक माथि छ र सडकमा त्यसको एरो भएको साइनबोर्ड छ । मेरुदण्ड भाँचिएका वा मेरुदण्डमा चोट लागेकाहरुलाई उपचार गर्ने यो नेपालको एकमात्र अस्पताल हो ।
बनेपा आइपुगेछ । चोकमा बाबाले क्यामराको रील र व्याट्री किन्नु भयो । बाबा पनि कस्तो मान्छे, थपक्क डिजिटल क्यामरा नराखेर त्यो पुरानो मोडलको क्यामरा अहिलेसम्म राखिछाड्नु भएको । मलाई अलि चित्त बुझेन । बनेपा बर्दिवास सडकखण्ड भनेपछि पक्का पनि बनेपाबाटै छुटिन्छ होला भन्ने लागेको थियो तर होइन रहेछ । धुलिखेल आइपुग्न लागिसक्यो तर बाटो अझै भेटिएन । सडकमा भेषबहादुर अंकलले एकजना चिनेको मान्छे देखी उसलाई सोध्नु भयो । थाहा भयो धुलिखेलबाट दायाँ तिर लाग्नु पर्ने रहेछ । हामी चिटिक्क परेको नयाँ पिच बाटोबाट नेपालथोक तिर झर्न थाल्यौं । धुलिखेलबाट ५० कि.मि. गएपछि नेपालथोक पुगिने रहेछ । बाटोको दृश्य साह्रै मनमोहक थियो । सल्लाघारी, टाढा–टाढा सम्म देखिने हरियाली, बेला बेलामा देखिने मसिना खोल्साहरुको दृश्य बडो रमाइलो थियो ।

तर पक्की बाटो भएर पनि बाटो चाहि अलिक साँघुरो भो । दुईवटा ठूला गाडी क्रस गर्नै अप्ठ्यारो । ठाउँ ठाउँमा त डरलाग्दो भीर पनि थियो । एकछिनमा फेरि तेर्सियो । हामी अब रोसी किनारै किनार जाँदै थियौं । बहिनी तनुजा खुव रमाइलो मानेर झ्यालबाट बाहिर हेरिरहेकी थिई । मैले कबुल गरेको चकलेट विर्सिसकेकी थिई । नेपालथोक नामको एउटा सुन्दर बजार आइपुग्यो र पिच पनि टुङ्गियो । सडक मर्मत गर्नको लागि डाइभर्सन गरिएको रहेछ । हामी त्यतै लाग्यौं । एकछिनपछि डाइभर्सन टुङ्गियो र गाडी पुनः मुल सडकमा पुग्यो । थुक्क, अब त पिच नै छैन । साँघुरो र खाल्टा–खुल्टी परेको कच्ची बाटो मात्रै छ । लौ हेर एकठाउँमा त जाम पनि रहेछ, थुप्रै गाडीहरु स्टार्ट बन्द गरी लर्के ताँत लागीरहेका । खुल्न धेरै बेर लाग्नेभयो । गाडीमा बस्न दिक्क लागेर म ढोका खोली फुत्त बाहिर निस्कें, बाबाआमाले बाहिर न जा भनेर कराएको पनि वास्ता नगरी । मैले बाटोमा एकजना अलि सुकिला लुगा लगाएको अंकल उभिएको देखेर सोधें “अंकल यो बाटो अव पिच छैन ? कहिले पिच हुन्छ ?”

अंकलले बताए अनुसार त्यहाँ देखि उता पिच भएको रहेनछ र कहिले हुने भन्ने पनि टुङ्गो रहेनछ । जापान सरकारले सिन्धुलीसम्म पिच गरिदिने भई काम शुरु गरिसकेको थियो तर त्यस क्षेत्रका स्थानीय केही हुल्लडवाज व्यक्तिहरुले ठेकेदारलाई नचाहिंदा–नचाहिंदा मागहरु राख्ने, धम्क्याउने, चन्दा माग्ने, आफ्नो घरसम्म बाटो तान्न लगाउने, चक्का जाम गर्ने, काममा अवरोध खडा गर्दिने गरेर साह«ै सताएछन् , अन्तमा ठेकेदार कम्पनी वाक्क भएर यो बाटो अहिलेलाई पिचै नगरी त्यत्तिकै छोडेर त्यहाँका जनतालाई चेतावनी दिनुपर्छ भनी काम बन्द गरी हिंडेछ । कुरो सुन्दा मेरो मन खिन्न भयो । हामी नेपालीहरु उच्छ्रृंखल भएकाले नै विकासमा पछि परेका हौं । झन् लोकतन्त्र आएपछि छाडातन्त्र अझै मौलाएको छ । यी राजनीतिक पार्टीहरुले कति धेरै नेपाल बन्द गरी हामीलाई स्कूल जान डिस्टर्व गरेका । सम्झँदा पनि दिक्क लाग्छ । म भविष्यमा कुनै पनि राजनीतिक पार्टीमा नलागी आफ्नो पढाइमात्र अगाडि बढाउने निश्चय गर्छु ।

जाम खुलेछ । म गाडी भित्र पस्छु । गाडी अगाडि बढ्यो । अव त बाटो कस्तो अप्ठ्यारो । कतै गाडी चढ्न पनि कस्तो गाह«ो हुने उकालो, कतै धुलो उडेर बाटो नै नदेखिने, कतै गाडी नियन्त्रण गर्नै मुस्किल हुने ठाडो ओरालो पो रहेछ । थुक्क, बेकार यो बाटो आइएछ । एउटा खहरे खोलाको उराठ लाग्दो फराकिलो बगरमा आइपुगियो । बहिनी तनुजाले भनी “आमा ∕ भोक लाग्यो ।”
बाबाले भन्नु भयो “ठीक बेलामा सम्झाइस् । लु अब यही बगरमा खाजा खानु पर्छ ।”

हामी बगरको फराकिलो ढुंगामा खाजा खान बस्यौं । हजूरआमाले अलि पर गई एउटा बुटाबाट केका हुन् ठूला–ठूला पात टिपेर ल्याउनु भयो । हामीले तिनै पातलाई प्लेटको रुपमा प्रयोग गर्यौं ।

“चाहिन्छ भने म अझै पात टिपेर ल्याउँछु । कति चाहिन्छ ? म त जाँगरिली पो छु त” हजूरआमाले भन्नुभयो । नौलो ठाउँमा घुम्ने मौका पाएकोले हजूरआमा पनि खुसीले फुरुङ्गै पर्नुभएको थियो ।

“भन् है नानी कति ल्याउँ पात ?” हजूरआमाले बाबालाई नानी भन्नु हुन्छ ।
“भयो अब पुग्छ, ल्याउनु पर्दैन ” बाबाले भन्नु भयो ।

“यस्तै हो परदेशमा । कहीं थालमा खानुपर्छ, कहीं पातमा खानुपर्छ, कहीं हातमा खानुपर्छ ” हजूरआमाले भन्नुभयो । हामीले झोलामा बोकेको घरमै बनाएको परिकार चाम्रे, तरकारी, अचार, दही, उमालेको पानी निकाल्यौं र आमाले पस्किन थाल्नु भयो ।
“हामी दुईजनालाई त थोरै दिनु है । विहान टन्न खाएको भोकै लागेको छैन” भेषबहादुर अंकलले भन्नुभयो ।
“मलाई त दिंदै नदिनु, खान मन छैन ।” रमला आन्टीले फेरि भन्नु भयो । सायद उहाँहरुलाई हाकिम, हाकिम्नीले बोकेर ल्याएको खाना खान संकोच लागी रहेको थियो ।

“खानुपर्छ नि ! संकोच मान्नु हुँदैन त । अब थुप्रै दिन हामी सँगसँगै हिड्नुपर्छ । हामी त एउटै परिवार जस्ता पो हौं त । त्यसो भन्न थाल्नुभयो भने त बाटामा भोकै पर्नुपर्ला नि” बाबाले भन्नुभयो ।

घरमा बनाएको खानाको स्वादै बेग्लै । भनाइ नै छ, पटुकाको खाजा, बटुकाको भात । नुन, खुर्सानी, मसला, चिल्लो सबै कुरा चाहिंदो मात्रामा ठिक्क मिलेको । स्वस्थकर । अहिलेका आधुनिक भनाउँदा मानिसहरु जङ्क फुड भनेपछि हुरुक्क हुन्छन् र स्वास्थ्य विगार्छन् । तर म चाहिं त्यस्तो छुइन । जङ्क फुड म भर्सक लिन्न । मलाई बाबा, आमाले त्यस्तै सिकाउनु भएको छ । बाबा आमाले सधैं मेरो भलाई मात्रै चिताउनु हुन्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ त्यसैले म उहाँहरुको कुरा सधैं पालना गर्छु । खास गरी चबाट उठेका चकलेट, चाउचाउ, चोकोपन, चुइगम, चाउमिन, चिउरा, चटपटे, चीजबल र अरु चीजबीज जस्तो कुरमुरे, केक, विस्कुट, दुनट, समोसा, पानीपुरी, आइसक्रिम जस्ता खाद्य बस्तुले स्वास्थ्यलाई हानी गर्छ भन्ने कुरा मलाई थाहा छ । त्यसैले अहिले खाएको खाजाबाट म सन्तुष्ट छु । भनाइ नै छ, पसीना बगाएको काम र आफैंले पकाएको माम ।

“औ केटाकेटी हो फोटो खिच न हौ फोटो” हजूरआमाले भन्नु भयो । हजूरआमाले यसपटक ठूलो संजोगले हामीसँग घुम्ने मौका पाउनु भएको थियो र उहाँ खुशी हुने कारण पनि यही थियो । हजूरआमा हाम्रो पहाडको घर चैनपुर, फलाँटे, संखुवासभामा ठूलोकाका काकीसँग बस्ने गर्नु हुन्छ । यसपाली केही समयको लागी हामीलाई भेट्न काठमाडौं आउँदा उहाँलाई यो मौका जुरेको थियो । हाम्रो फोटो सेसन शुरु भयो । गीता दिदीसँग मागेर लगेको डिजिटल क्यामरा, बाबाको रील भएको क्यामरा र आमाको मोवाइलबाट मैले नै सबैको फोटो खिचें । मेरो चाहिं आमाले खिचिदिनु भयो । बेसंीमा खोलाको बगरमा चैतको मध्य घाम निकै चर्केको थियो । गाडी पनि तात्तिएर रनक्कै भएको थियो । भेषबहादुर अंकलले डिकीबाट जर्किन निकालेर पानी हाल्नु भयो । गाडीलाई पनि हामीलाई जस्तै तिर्खा लाग्दो रहेछ । अनि हामी अगाडि बढ्यौं ।

बाटो अझै खतरनाकै छ । अलिकति सन्तुलन विग्रियो भने, ब्रेक फेल भयो वा टायर पंचर भयो भने गाडी सीधै एक÷दुई सय मिटर तल खस्थ्यो । तर भेषबहादुर अंकल साह्रै कुशल ड्राइभर हुनुहुन्थ्यो र एकदमै होसियारी पूर्वक जतन गरेर गाडी चलाउनु हुन्थ्यो । मेरो बाबाले उहाँलाई त्यसैले साह्रै मन पराउनु हुन्थ्यो । बाटो जति खतरनाक भए पनि नौलो ठाउँ भएकोले हामीलाई साह«ै रमाइलो भएको थियो ।

क्रमश भिरालो बाटो टुङ्गिएर समथर फाँट बस्ती तथा खेतहरु देखिन थाले । विभिन्न नौला नाम गरेका हामीले कहिल्यै नसुनेका नयाँ नयाँ ठाउँहरु एकपछि अर्को गर्दै आउन थाले । ती सबैको नाम सम्झन सम्भव छैन । तर चैनपुर, खाल्ले र खुर्कोट चाहिं नविर्सिने नाउँ हुन् । हाम्रो घर पनि संखुवासभाको चैनपुर हो र हाम्रो गाउँ फलाँटेकै छेउमा खाल्ले छ र खुर्कुटेगाउँ नाम गरेको नेवारहरुको बस्ती पनि छ । त्यहाँका नेवारहरु खुर्कोटबाट बसाई गएकाले उनीहरुलाई खुर्कुटे भनिएको रहेछ । हामं्रो नेपालमा चैनपुर नाम गरेको ठाउँहरु धेरै छन् । मैले जानेसम्म चैनपुर भन्ने ठाउँ संखुवासभा, सिराहा, पर्सा, चितवन, सिन्धुली, धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक, बझाङ्ग, दाङ, ललितपुर, कास्की, बर्दिया लगायतका ठाउँमा छन् । तर मैले भने अहिलेसम्म दुईवटा चैनपुर मात्र देख्न पाएँ । बाँकी सबै चैनपुरहरु हेर्न पाए त क्या मजा हुने थियो । भारतमा पनि धेरैवटा चैनपुरहरु छन् अरे ।

“अव घर गएपछि म खुर्कुटेगाउँ गएर खुर्कुटेहरुलाई म तिमीहरुको पुख्र्यौली थलो खुर्कोट पनि पुगें बुझ्यौ ? भनेर भन्छु ।” हजूरआमाले खुशी हुँदै भन्नुभयो । हजूरआमा खुशी भएको देखेर भेषबहादुर अंकल र रमला आन्टी मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो ।
एउटा रमाइलो बजार आइपुग्यो नाम झाङ्गाझोली रातमाटा । हामी बजारै बजार अगाडि बढ्यौं । तर बजार टुङ्गिनासाथ बाटो पनि टुङ्गियो । लौ मा¥यो ! अब कता जाने । “ऐ केटा ∕ ओर्लिएर बाटो सोध् त” बाबाले मलाई आदेश दिनु भयो । मैले ओर्लिएर एकजना धान केलाउँदै गरेकी आन्टीलाई बाटो सोधें । हत्तेरिका हामीले त बाटो विराएछौं । बाटो त बजारको शुरुवातमै पिपलको बोटबाट दाहिने तिर पो लाग्नु पर्ने रहेछ । कस्तो फसाद ! गाडी फर्काउन पनि बाटो साँघुरो थियो । अब आधा कि.मि. जति गाडी व्याक गरेर लानु पर्ने भयो । साँघुरो बाटोमा जतासुकै बग्रेल्ती कुखुरा, हाँस चलिरहेका थिए । किच्यो भने अर्को भाउँतो आइलाग्ने ।

“ऐ केटा ∕ तँ कुखुरा धपाउँदै हिंड् हामी गाडीमा तेरो पछि पछि आउँछौं ।” बाबाले आदेश दिनु भयो ।
मलाई बाल श्रमिक बनाएर शोषण गरेको मैले प्रष्टै बुझें तर पनि नयाँ ठाउँमा रमाइलो बजारमा मोटरलाई गाइड गरेर बाटोका कुखुरा धपाउँदै हिड्न मलाई रमाइलै लागेकोले एउटा असल आज्ञाकारी छोराको भूमिका निर्वाह गरी कुखुरा धपाउँदै लुखुर लुखुर हिडें । मेरो पछि पछि गाडी व्याक भएर आइरहेको थियो । बल्ल बल्ल पिपलको बोट आइपुग्यो ।
गाडी दायाँ पटिको मुलबाटो तिर लाग्यो । तर फेरि फसाद । एउटा निर्माण सामग्री उतार्दै गरेको मिनिट्रकले पूरै बाटो ढसमस्स ओगटेको थियो । हामी अगाडि बढ्ने ठाउँ नै थिएन । सामान उतार्ने कामदारहरु पनि साह«ै लोसे । पाँच मिनेटमा हुने कामलाई पनि उनीहरुले आधा घण्टाभन्दा बढी समय लगाएर हामीलाई अलपत्र पारे । ट्रक खाली भए पछि त्यसलाई फर्किने ठाउँ दिन हाम्रो गाडी फेरि व्याक गर्नु पर्यो ।

अलि पर पुगेपछि मैले एकजना कलेज पढ्ने दिदीलाई बाटामा भेटेर सोधें “दिदी ∕ सिन्धुलीमाडी पुग्न अब कति टाइम लाग्छ ?” दिदीको भनाई अनुसार अझै दुई तीन घण्टा लाग्ने रहेछ । जाँदा जाँदै फेरि उकालो बाटो आयो, गाडीमा भेषबहादुर अंकलले फष्ट गेयर लगाउनु भयो । गाडी चाहिँ “सकिन नि, मरें बाबा, गलें, कस्तो थकाई लाग्यो” भनौंला जस्तो गर्दै उकालोमा ग्वाँ गरेर कराउँदै थियो ।

“अब चाहिं मेरो केही लागेन है बाबै हो” भनौंला जस्तै गरी गाडी घ्याच्चै रोकियो । पानी सकिएछ । भेषबहादुर अंकलले पानी हाल्नु भयो । “तिमीहरुले यस्तो धापिएको बेला मलाई पानी खान दिएर मेरो ठूलो सेवा ग¥यौं । अब मैले पनि तिमीहरुको सेवा गर्नै प¥यो नि” भनौंला जस्तो गर्दै गाडी अगाडि बढ्यो ।

दुःख पछि सुख आउँछ भने झैं कच्ची बाटो टुङ्गिएर सानदार पिच आइपुग्यो । हामी सबै प्रफुल्ल भयौं । उकालो चढेर पहाडको शिखरमा पुग्दा रमाइलो दृश्य देखियो । सायद यो सिन्धुलीगढी हुनुपर्छ । अबेर भैसकेकोले हामी ओर्लिएर हेर्न तिर नलागी सोझै अगाडि बढ्यौं । अब ओरालो शुरु भयो । म चाहिं ओरालोमा भुसुक्कै निदाएँछु । ओरालो टुंगिएर तेर्सो शुरु भएपछि म विउँझें ।
“अब सिन्धुलीमाडी पुग्न लागियो” बाबाले भन्नुभयो ।

“बाबा ! सिन्धुलीमाडीमा त हेर्नु पर्ने जति सबै ठाउँ हेरेर मात्रै जानुपर्छ है” मैले भनें ।
“हुन्छ, हुन्छ । म मेरा साथीलाई फोन गर्छु । उहाँले आइडिया दिनु हुन्छ” बाबाले उहाँको साथी जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगाना अंकललाई मोवाइलमा फोन गर्नु भयो । अंकलले त काठमाडौं विजुलीबजारको उहाँको घरबाट पो फोन उठाउनु भयो । अघिल्लै दिन घर जानु भएको रहेछ ।

“केही छैन, हामी आफैं हेर्दै जाउँला । सिन्धुलीमाडी खासै ठूलो ठाउँ होइन ।” बाबाले भन्नुभयो ।
क्रमश सिन्धुलीमाडी लेखिएका साइनबोर्डहरु सडकको दायाँ बायाँ देखिन थाले । घरहरु फाट्फुट् मात्रै थिए । एउटा कोनि के नामको होटल र प्रहरी कार्यालय पनि देखियो ।

“यो मूल बजार होइन । मूल बजार अलि तल गहिरोमा पर्छ अरे । मलाई ढुंगानाजीले भन्नु भएको । जाउँ अगाडि” बाबाले भन्नु भयो ।

हामी फेरि एक स्टेप तल ओरालोे झ¥यौं । त्यहाँ त जङ्गल पो शुरु भयो । मूल बजार त कतै देखिएन । सडक किनारको एउटा छाप्रोमा सानो पसल थियो । त्यहाँको पसलेलाई सोधेपछि पो थाहा भयो कि हामीले मूल बजार त माथि नै छाडेछौं । मूल सडक छाडेर दायाँपटि ओर्लनु पर्नेमा हामी सोझै सडकै सडक अगाडि बढेछौं । अब हामीसँग दुईवटा विकल्प थिए ।

सिन्धुलीमाडीतिरै फर्किएर आज त्यहीं बास बस्ने अथवा समय बाँकी भएकोले कटारीतिर लाग्ने । पसलेको भनाई अनुसार त्यहाँबाट सोझै कटारी जाने बाटो पनि छ । तर बेचल्तीको जंगलको बाटो भएकोले नौलो मान्छेलाई अप्ठ्यारो छ । त्यहाँबाट बर्दिबास निस्किएर महेन्द्र राजमार्ग हुँदै मिर्चैयाबाट गयो भने सजिलो हुने रहेछ । हामीले सजिलो बाटो रोज्ने निर्णय गर्यौं र हान्नियौं चारकोशे झाडी हुँदै बर्दिबास तर्फ । भिमान आइपुगेछ । त्यहाँ पेट्रोलपम्प देख्नासाथ भेषबहादुर अंकलले गाडीमा तेल हाल्न थाल्नु भयो । बाबा फलफुल किन्न थाल्नु भयो । जंगल शुरु भयो । कुन चाहिं उटपट्याङ्गले डढेलो लगाएछ । जंगलमा चारैतिर आगो लागेको थियो । त्यो विभत्स दृश्य देखेर मेरो मन खिन्न भयो । त्यहाँ कति बोट विरुवा, काठपात, चराचुरुङ्गीका गुँड र बच्चा, कैयौं अरु ससाना जीवहरु डढेर सखाप भए होलान् । उखानै छ, आगोले खाएको वन र लुच्चाले खाएको धन । हाम्रो पर्यावरणमा र देशको राष्ट्रिय सम्पत्तिमा एउटा उट्पट्याङ्गको सानो गल्तीले कति ठूलो क्षति पुर्यायाे । त्यस्ता बदमासलाई खोजेर समाती कानूनी कारवाही गर्नु पर्ने । हामी चारकोशे झाडी हुँदै बर्दिबास तर्फ रफ्तारमा हान्नियौं । क्रमश:

हलेशी महादेव मन्दिर । (बाँकी यात्रा विवरण भाग २ पनि पढ्नुहाेला है ।)

Leave a Reply

Your email address will not be published.