१२ वर्षको उमेरदेखि लेखन सुरु गर्नुभएका विजय चालिसे नेपाली बालसाहित्यका वरिष्ठ लेखक, अनुवादक र सम्पादक हुनुहुन्थ्यो । नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा पनि उहाँको विशेष योगदान रहेको छ ।
नेपाली साहित्यका कालजयी लेखक रमेश विकलका सुपुत्र विजय चालिसेको माताजीको नाम सुशीला चालिसे हो ।
तीन दर्जनभन्दा बढी बालसाहित्य कृतिहरु प्रकाशित गरेका लेखक चालिसेले एक अन्तर्वार्ताका क्रममा केटाकेटी अनलाइन बालपत्रिकालाई भन्नुभएको छ, बालबालिकालाई वैज्ञानिक चेतना र सामाजिक रुपान्तरणको साहित्य दिनुपर्छ भन्ने मलाई लाग्दछ । मेरो लेखनमा मैले त्यही दिन कोसिस गरेको छु । हाम्रो नेपाली बालसाहित्य पछिल्लो चरणमा आएर सुस्त र कमजोर देखिएको छ । बालसाहित्य गैरसरकारी संस्थालाई किताब बेच्न लेख्ने विधा हो भन्ने भाष्य स्थापित भएकाले यो सोचले नेपाली बालसाहित्यलाई कमजोर बनाउँदै लगेको हो कि भन्ने मलाई आभास भएको छ । यसतर्फ सर्जकहरु सचेत हुनु जरुरी ठान्दछु ।
लेखक चालिसे साहित्य र पत्रकारितताका पनि शिखर व्यक्तित्व हुनुहुन्थ्यो । पत्रकारितामा उहाँ नेपाल सरकारको जेठो पत्रिका गोरखापत्र दैनिकको प्रधान सम्पादक, मुना बालपत्रिकाको प्रधान सम्पादक र गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष समेत हुनुभएको थियो थियो । उहाँ प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
साहित्य तर्फ उहाँका तीनवटा उपन्यास, सातवटा कथा संग्रह र आठवटा यात्रा निबन्ध कृतिहरु प्रकाशित छन् ।
बालसाहित्यमा लेखक चालिसे बालबालिकालाई वैज्ञानिक चेतना, स्वस्थ मनोरन्जन र नवीन विचार दिने सर्जकको रुपमा स्थापित हुनुहुन्छ ।
उहाँले पारिजात बालसाहित्य सम्मान, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार, बालसाहित्य प्रतिष्ठान नेपालबाट चन्द्रनाथ वरिष्ठ बालसाहित्य लेखक सम्मान सहित दर्जनौं पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो ।
छोराहरु अरुण, आलोक र छोरी अन्जु र भाइ महेन्द्र चालिसेको पारिवारिक ममतामा आरुबारी, काठमाडौंमा बस्दै आउनुभएका लेखक चालिसेको ७४ वर्षको उमेरमा गत २०८२ जेठ १६ गते निधन भएको थियो । केटाकेटी मिडिया, बालसाहित्य प्रतिष्ठान नेपाल र स्वर प्रकाशक– स्वर द्धैमासिक पत्रिका परिवार हाम्रा आजीवन सदस्यसमेत रहनुभएका लेखक चालिसेको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौँ ।
कार्तिकेय घिमिरे, अध्यक्ष