काठमाडौं, १९ चैत/ विश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एन्डरसनको जन्मजयन्ती र अन्तर्राष्ट्रिय बालपुस्तक दिवस बालपुस्तकको महत्वबारे छलफल, बालपुस्तक वितरण र कथावाचन तथा प्रतिभा प्रदर्शन कार्यक्रम गरी मनाइयो । बालसाहित्य प्रतिष्ठानद्घारा आयोजित कार्यक्रममा काठमाडौंको सिफलचौरस्थित बालमन्दिर, बालग्रहमा आश्रित ९३ जना बालबालिकाहरुलाई प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले पुस्तकको महत्वबारे प्रवचन दिनुभएको थियो ।
कार्यक्रममा सहभागी बालबालिकाहरुलाई ‘जादुको कथा’ पुस्तक उपहार प्रदान गरिएको थियो । कार्यक्रममा बालसाहित्य लेखक कार्तिकेयले कथावाचन गर्नुका साथै बालबालिकाहरुले आआफ्नो प्रतिभा प्रदर्शन गर्नु भएको थियो । कथावाचन, गायन, नृत्य र कविता वाचनले बालबालिकाहरुले कार्यक्रमलाई रोचक बनाउनुभएको थियो ।